मिथिला रत्न,सिरहा । लहान नगरपालिकाका नगरप्रमुखले हिजो पत्रकार सम्मेलन गर्दै तीन वर्षे कार्यकालको ‘उपलब्धि विवरण’ सार्वजनिक गरे। झण्डै ११ मिनेट २६ सेकेन्ड लामो उक्त कार्यक्रम कर्मकाण्डी शैलीमा सम्पन्न भए पनि आम जनचासोका कतिपय चर्चित तथा विवादास्पद प्रसंगहरू भने छुटेको देखिन्छ।

स्थानीय बासिन्दा शंकर चौधरि आफ्नो फेस्बुक वालमा लेख्नुहुन्छ । निम्न विषयहरू नगर प्रमुखको कार्यकालसँग प्रत्यक्ष सम्बन्धित भए पनि पत्रकार सम्मेलनमा उल्लेख गरिएन:

१. गाडी सुविधा घोषणा र व्यवहारको भिन्नता

कार्यभार सम्हालेकै दिन गाडी सुविधा नलिने घोषणा गरिए पनि, भोलिपल्टदेखि नै सो सुविधा प्रयोग गरिएको छ। तीन वर्षसम्म निरन्तर चलिरहेको यो व्यवहार पनि ‘उपलब्धि सूची’मा समेटिएन।

२. नगर बसको प्रकरण

नगरमा सञ्चालनमा रहेको नगर बस तुरुन्त बन्द गरी क्याम्पसलाई दिइयो। केही समयपछि पुनः फिर्ता ल्याएर उही बस फेरि नगर बसका रूपमा चलाइएको थियो। यस्ता निर्णयहरूको निरन्तरता र कार्यप्रणालीबारे पनि मौनता अपनाइएको छ।

३. चमेना गृहको ‘बन्द–खुला’ नीति

नगरपालिकाभित्रको चमेना गृह बन्द गरी ‘शुद्ध प्रशासन’को सन्देश दिन खोजिए पनि तीन वर्ष नबित्दै नगरपालिका कम्पाउन्डसँगै जोडिएको नयाँ चमेना गृह पुनः सञ्चालनमा ल्याइएको छ।

४. भ्रष्टाचारमाथिको मौनता

कार्यभार सम्हाल्ने दिन भ्रष्टाचार नहुन दिने उद्घोष गरिएको भए पनि कार्यकालभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्ने घटनाहरूको उल्लेख भएन।

५. गोवा प्रकरणको छायाँ

सामाजिक सञ्जालमा व्यापक आलोचित बनेको गोवा भ्रमण काण्ड पनि उपलब्धिको सूचीमा छुटेको देखिन्छ।

६. थाइल्याण्ड ‘रिफ्रेश टुर’

नगर क्षेत्रका सबै वडा अध्यक्षहरूलाई थाइल्याण्ड लैजाने निर्णय र कार्यान्वयन पनि ‘प्रशासनिक समन्वय’को उदाहरणका रूपमा प्रस्तुत हुन सकेन।

७. ‘फुटाऊ र शासन गर’ रणनीति

बजारिया र गाउँ क्षेत्रका जनतालाई विभाजित गर्ने रणनीति तथा त्यसको प्रभावमूलक प्रयोग पनि पत्रकार सम्मेलनको बुलेट पोइन्टमा समेटिएन।

८. उपप्रमुखसँगको द्वन्द्व

नगर प्रमुख र उपप्रमुखबीचको लामो समयदेखि जारी द्वन्द्व, जुन सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा समेत झल्किएको छ, त्यसबारे पनि कुनै संकेत दिइएन।

९. गुणस्तरहीन निर्माणको पर्दा ओढाउने प्रयास

तरकारी बजारमा गरिएको RCC ढलान भत्कन नपाउँदै सडक विभागसँगको सेटिङ मिलाएर कालोपत्र गर्ने प्रयाससमेत उल्लेख गर्न उपयुक्त ठानिएन।

यसरी हेर्दा, नगरप्रमुखको पत्रकार सम्मेलनमा के गरियो भन्नेभन्दा पनि के छुट्यो भन्ने प्रश्नले जनस्तरमा बढी चासो उत्पन्न गराएको देखिन्छ।