सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोद कुमार महतो "सवारी ज्यान मुद्दा मिलाइदिन्छु" भन्दै १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका छन्।

पीडित रानी देवी यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको जाहेरी अनुसार, प्रतिवादी महतोले सवारी ज्यानसम्बन्धी मुद्दा (मुद्दा नं. ३६६) मा संलग्न रानी देवीका छोरा विवेक यादवलाई प्रहरी हिरासतबाट छुटाइदिन्छु भनी रकम असुली गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले अनुसन्धानका क्रममा महतोलाई पक्राउ गरेको जनाएको छ। उनलाई सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले आम जनतालाई कसैले प्रहरीबाट काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा वा पैसा मागेमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (नि.) बिरेन्द्र कुमार पासवानले प्रहरी सेवा निःशुल्क रहेको स्पष्ट पारेका छन्।