बुटवल । आफुले भनेको ठाउमा परिक्षा केन्द्र नपारेपछि कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ‘भ्रष्ट’ भएको आरोप लगाएका छन्।

मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आज बिहान सीडीओ रिजालमाथि नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाएका हुन्। सीडीओ रिजाल बिहिवार गृहमन्त्रालयमा सरुवा भएका थिए।सहसचिव रिजाल निजामतीमा अहिलेसम्म आर्थिकरूपमा कतै विवादमा नपरेका, पारदर्शी र स्वच्छ छविका प्रशासक भनेर चिनिन्छन्।

कांग्रेसबाट मेयर जितेका आचार्यले आफूले भनेको ठाउँमा परीक्षा केन्द्र नपरेपछि रिजालको चरित्र हत्या गरेको स्रोतले बतायो।


रिजालमाथि कक्षा १० को एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ।

‘सीडीओ सा’व तपाईँलाई धन्यवाद, सरुवा भई जाँदा जाँदै कक्षा १० को एसईई परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग राम्रै सौदावाजी गर्नु भएछ’ मेयरले फेसबुकमा लेखेका छन्, ‘राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिकरूपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ।’

आचार्यले लेखेका छन्,‘तर केही नीतिगत प्रवृत्तिको पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालीमा धक्का दिन जुन कोसिस गर्नुभयो इतिहासले धिक्कार्नेछ।’

सीडीओ रिजालले अधिकारको चरम दुरुपयोग गरेको भन्दै मेयरले अझै भनेका छन्, ‘तपाईँ खै कस्तो प्रलोभनमा पर्नुभयो विस्तारै खुल्दै जाला। तर, सिंगो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरी गरिने यस्ता धुर्त निर्णयको हामी सामना गर्नेछौं।’यस विषयमा सीडीओले हालसम्म प्रतिक्रिया दिएका छैनन्।