सिरहा – नेकपा माओवादी केन्द्रका नेता तथा मधेश प्रदेश इन्चार्ज मातृका यादवले आफ्नो पार्टी गलत सङ्गतका कारण बिग्रिएको बताएका छन्।
सिरहामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा माओवादी केन्द्रले राम्रो अवस्था हुँदा-हुँदै पनि कांग्रेस र एमालेको सङ्गतका कारण बिग्रिएको उल्लेख गरे। "हाम्रो पार्टी सबल हुँदा पनि कहिले कांग्रेस, कहिले एमालेसँग सरकार चलाउने क्रममा हामी नै क्षति बेहोर्नुपर्यो," यादवले भने।

उनका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार हुँदा कांग्रेस र एमालेका मन्त्रीहरूले गरेका कुकर्म पनि माओवादीले नै भोग्नुपरेको छ। "देशमा बढ्दो भ्रष्टाचार र बेथितिको प्रमुख दोष कांग्रेस, एमाले र मधेशवादी दलहरूमा जान्छ," उनले आरोप लगाए।
माओवादी केन्द्रका नेताहरूबाट पछिल्ला दिनमा लगातार आत्मसमीक्षात्मक अभिव्यक्ति आउने क्रम बढेको छ। यादवको यो भनाइ पार्टीभित्रको असन्तुष्टिलाई संकेत गर्ने हो वा नयाँ रणनीतिको संकेत हो भन्ने चर्चा भइरहेको छ।