शिव दयाल यादव, सिरहा – सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको न्यायको माग गर्दै मुसहर समुदायले विशाल प्रदर्शन गरेका छन्। पीडितका लागि न्याय सुनिश्चित गर्न प्रशासनसँग कठोर कानूनी कारबाहीको माग गरिएको छ।
घटनाको विवरण

माघ २७ गते राति शौच गर्न बाहिर गएकी रिंकुकुमारी सदाय गाउँकै रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलको अपहरणमा परेकी थिइन्। आरोपितहरूले उनलाई सामूहिक बलात्कार गरे।
तर, घटनापछि पीडितलाई प्रहरीमा उजुरी दिनुको साटो वडासदस्य नथुनी साह, रामपुकार मण्डल, रामपृत साह, रामकृपाल मण्डल, विन्देश्वर मण्डल लगायतका स्थानीय व्यक्तिहरूले पञ्चायती गरी घटनालाई गाउँमै मिलाउन खोजे।
माघ २९ र ३० गते गाउँकै दलानमा बसेको पञ्चायतीले आरोपितहरूलाई १ लाख ४० हजार जरिवाना तिराउने निर्णय गर्यो। साथै, पीडितलाई प्रहरीमा उजुरी नदिन चेतावनी दिइएको थियो।
तर, पञ्चायती निर्णयपछि आरोपितहरूबीच जरिवाना तिर्ने विषयमा विवाद हुँदा, पीडित मानसिक तनावमा परेकी थिइन्। अन्ततः माघ ३० गते साँझ रिंकुकुमारी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिइन्।
न्यायको माग गर्दै विशाल प्रदर्शन
घटनापछि मुसहर संघर्ष समितिको अगुवाइमा सिरहा को लहान नगरभर प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले दोषीलाई कडा सजायको माग गर्दै प्रशासनविरुद्ध नाराबाजी गरे।
मुसहर समुदायका अगुवाहरूले भने, "हामी अन्याय सहँदैनौँ। दोषीहरूलाई कानूनी कारबाही हुनुपर्छ। पञ्चायती मिलाप गर्नेहरूलाई पनि कारबाही गरिनुपर्छ।"
यस विषयमा प्रशासनको धारणा भने अझै स्पष्ट आएको छैन। स्थानीयबासीले निष्पक्ष छानबिन र न्यायको सुनिश्चितताका लागि उच्च तहबाट हस्तक्षेप हुनुपर्ने माग गरेका छन्।