सिरहा, फागुन १८ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ सिरहा आइपुगेका छन्। जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत उनी सिरहा आएका हुन्।

अध्यक्ष प्रचण्डसहितका नेताहरू शुक्रबार साँझ हुलाकी सडक अन्तर्गत भगवानपुर पुगेका छन्। उनीहरूलाई माओवादी कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। जिल्ला इन्चार्ज अजयशंकर नायक का अनुसार अध्यक्ष प्रचण्ड राति स्थानीय व्यवसायी बलराम साहको घरमा बस्नेछन्। अन्य नेताहरूका लागि पनि फरक-फरक स्थानमा बासको व्यवस्था गरिएको छ। पार्टीका अनुसार बस्ने स्थानमै भोजनको व्यवस्था मिलाइएको छ।

जनता भेट्ने, पीडित परिवारसँग संवाद गर्ने कार्यक्रम

स्वागत कार्यक्रममा सहभागी भएपछि अध्यक्ष प्रचण्डले शनिबार बिहान मोर्निङ वाक गर्नेछन्। त्यसपछि नवराजपुर-१ की सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु भएकी स्व. रिङ्कु सदायको परिवारसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। 

त्यसपछि अध्यक्ष दाहाल विभिन्न स्थानमा स्वागत तथा जनसंवाद कार्यक्रममा सहभागी हुनेछन्।

नवराजपुर चौकमा स्वागत कार्यक्रम

बरियारपट्टीमा भेटघाट तथा स्वागत

दरहैया, औरही, गणेशपुर, कृष्णपुर चौकमा स्वागत कार्यक्रम

सिरहा सदरमुकाममा विशाल जनसभा आयोजना

शनिबार अपराह्न सिरहा सदरमुकाममा विशाल जनसभा आयोजना गर्ने कार्यक्रम छ। अभियानका क्रममा माओवादी केन्द्रले स्थानीय जनताको गुनासो सुन्ने, पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराउने तथा पार्टी सुदृढीकरणमा जोड दिने बताइएको छ।

जनसभापछि अध्यक्ष प्रचण्डलाई बसविट्टा चौकमा स्वागत गरिनेछ, त्यसपछि उनी धनुषा प्रस्थान गर्नेछन्।

तराई-मधेशमा माओवादीको सक्रियता बढ्दो

यस अभियानलाई माओवादी केन्द्रले मधेशमा आफ्नो उपस्थिति मजबुत बनाउने अवसरका रूपमा लिएको देखिन्छ। पछिल्लो समय तराई–मधेशमा माओवादी केन्द्रको प्रभाव घट्दै गएको चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्ड स्वयं जनतामाझ पुगेर समर्थन बटुल्ने प्रयास गरिरहेका छन्।

सिरहा भ्रमणले स्थानीय राजनीति र माओवादी केन्द्रको आगामी रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको विषय बन्नेछ।