सिरहा । लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले नगरपालिकाले जनताको सेवा गर्नुको साटो उल्टै दुःख दिने काम गरिरहेको आरोप लगाएका छन्।

नेपाल नेत्र ज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, लहानको ४२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रमुख महतोले किसानहरूका लागि खुट्टि खोलामा निर्माण भएको बाँध (ड्याम) लाई बेवास्ता गरिएको आरोप लगाए। उनले किसानहरूको समस्या समाधान गर्नुको साटो स्थानीय सरकार उदासीन बनेको बताए।

"सिंचाइको लागि किसानहरू आन्दोलन गर्न बाध्य छन्, तर सुन्ने कोही छैन," महतोले भने। उनले किसानहरूले बारम्बार माग राखे पनि नगरपालिकाले ठोस कदम नचालेको उल्लेख गरे।

स्थानीय किसानहरूले पनि सिंचाइ अभावका कारण खेतीमा गम्भीर समस्या भोग्नु परिरहेको बताउँदै आएका छन्। किसानहरूको मागप्रति नगरपालिकाको जवाफ के आउनेछ भन्ने प्रतीक्षा गरिएको छ।