सिरहा । लहान नगरपालिका-१४ मा अवस्थित ऐतिहासिक बस्तिपुर मावि अहिले अस्तित्व संकटमा पुगेको छ। कुनै समय जिल्लाकै उत्कृष्ट विद्यालयमध्ये गनिएको यस विद्यालयमा अहिले विद्यार्थी नै भेट्न मुस्किल पर्ने अवस्था आएको छ। स्थानीय अभिभावकहरू विद्यालयको यो दुर्दशाका लागि प्रधानाध्यापक देवेन्द्र यादवलाई जिम्मेवार ठहराउँदै आएका छन्।
एक समय यहाँ विद्यार्थीहरूको यति भीड हुन्थ्यो कि कक्षाकोठा भरिभराउ मात्र होइन, अतिरिक्त कोठाको व्यवस्था गर्नुपर्थ्याे। सिरहा जिल्लाका मात्र होइन, अन्य जिल्ला तथा टाढा-टाढाबाट विद्यार्थीहरू होस्टेलमा बसेर अध्ययन गर्न आउँथे। तर अहिले विद्यालयको अवस्था निकै दयनीय बनेको छ। बाल कक्षामा जम्मा २-३ जना मात्र विद्यार्थी उपस्थिति हुन्छन् भने, कक्षा ४ मा ३ जना, कक्षा ३ मा ६-७ जना, कक्षा २ मा ५-६ जना मात्र छन्। कतिपय दिन त कक्षा नै खाली रहने गरेको पाइएको छ।

विद्यालय खस्किनुमा प्रमुख दोषी प्रधानाध्यापक देवेन्द्र यादव भएको स्थानीय अभिभावकहरूको आरोप छ। विद्यालय सञ्चालन गर्नुपर्ने जिम्मेवारी लिएका यादव आफैं विद्यालयको अस्तित्व मेट्न लागि परेको उनीहरू बताउँछन्। प्रधानाध्यापकको तानाशाही प्रवृत्ति, शिक्षामा राजनीति हावी गराउने प्रयास र शिक्षक तथा कर्मचारीहरूलाई नियन्त्रणमा राख्ने शैलीले गर्दा विद्यालयको अवस्था झन् बिग्रँदै गएको स्थानीयहरूको गुनासो छ।
अभिभावकहरू विद्यालय प्रशासन र प्र.अ. लाई पटक-पटक सुधारको माग गर्दा पनि सुनुवाइ नभएको बताउँछन्। उनीहरू भन्छन्, "पहिला यो विद्यालयमा छोराछोरीलाई भर्ना गराउँदा गर्व लाग्थ्यो, तर अहिले यहाँ न शिक्षकहरू नियमित छन्, न पढाइको स्तर राम्रो छ। विद्यार्थीहरू अन्यत्र जान बाध्य भएका छन्।"
त्यहाँ कार्यरत शिक्षकहरू प्रधानाध्यापकको डरले बोल्न सक्दैनन् भने अभिभावकहरू आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित छन्।
अब प्रश्न उठ्छ, के बस्तिपुर मावि फेरि पुरानै अवस्थामा फर्कन सक्छ? कुनै समय जिल्लाकै उत्कृष्ट विद्यालयको सूचीमा रहेको यो शैक्षिक संस्था आज संकटको संघारमा छ। यदि स्थानीय निकाय र शिक्षा मन्त्रालयले तत्काल कदम नचाले, विद्यालय पूर्ण रूपमा धराशायी हुने खतरा बढ्दै गएको छ।