उषा यादब,सिरहा । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताउनुभएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा मङ्गलबार आयोजित साइबर सुरक्षा र एआईसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री लेखीले राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका अतुलनीय रहेको बताउँदै पत्रकारप्रति आमजनताको ठुलो आशा, भरोसा र विश्वास रहेकाले थप जिम्मेवार तथा मर्यादित हुँदै नवीन प्रविधिको उपयोग गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिसँगै समाजमा रहेको विकृति न्यूनीकरण गर्ने खालका समाचारलाई प्राथमिकतामा राखी सामाजिक रूपान्तरणमा टेवा पुग्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । स्थानीय ठाउँको परिवर्तनका लागि पत्रकारसहित स्थानीयको अहम् भूमिका रहेको बताउनुभयो ।

उहाँले पत्रकारका समस्याप्रति आफू संवेदनशील रहेको बताउँदै प्रदेशका पत्रकारका लागि एक लाख रुपियाँको स्वास्थ्य बिमा र सात लाख रुपियाँको दुर्घटना बिमा सुविधा सरकारले दिएको बताउनुभयो । उहाँले चाँडै मधेश प्रदेशका अग्रज पत्रकारलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रमसमेत राखिएको बताउनुभयो ।